नयाँ वर्ष २०८२ को अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामनाको पूर्ण सन्देश Former King Gyanendra Shah's full message of good wishes on the occasion of the New Year 2082


 प्रिय आत्मीय नेपाली दाजुभाई दिदीबहिनीहरू,

हामी नेपालीहरूको घर आँगनमा नयाँ वर्ष २०८२ आइपुगेको छ । नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहेबसेका सम्पूर्ण नेपालीको सुख र शान्तिको मंगलमय शुभकामना ।

हरेक नयाँ वर्ष नूतन, आशा र विश्वास बोकेर आउने तर वर्षको बिदाइमा एउटा घनघोर निराशाकाबीच हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्छ।

केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड, भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो । नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ, त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।

वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुसरणीय छ । देशलाइ विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्षमा ०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ । मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्‍याउँदै आएको विदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मुल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ ।

वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मन्जुरी सधैंव स्थापित हुनुपर्दछ । राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ? सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मुल सार हो। यही नै राजनीतिको मूल धार हुनुपर्ने हो ।

विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्नुपरिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको छ ।

स्वदेशी स्रोत साधनको प्रयोगले स्वदशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रबाटै मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गर्नुपर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने संकेतहरू देखा परिरहेका छन् । विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्नसमेत गार्हो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकि युवाशक्तिको श्रम र सिपलाई स्वदेशमै उच्च उपयोग गर्नुपर्दछ ।

युवा स्वरोजगारको निम्ति अवसरको खोजी गरी नेपालमै आयआर्जन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ । सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ । विश्वभर छरिरहेका नेपाली एकताको सूत्रमा बाँधिन अब ढिला गर्न हुँदैन ।

आफ्ना ज्ञान, सीप र सामथ्र्य मात्रै होइन त्यहाँ आर्जेको पुँजी, स्रोत र साधन समेत नेपालमै लगाउनुपर्नेछ भन्ने भावना सबैमा जागृत गराउनुपर्नेछ । प्रकृतिले दिएको स्वर्गजस्तै दिएको सुन्दर हिमवत खण्ड नेपाल सिंगार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने, स्वदेश फर्क, स्वदेशर्म स्वर्ग भन्ने अभियान चलाउने आजको आवश्यकता भएको छ ।

जनभावना र जनचाहना बुझि मुलुकको समग्र संरचनामा नै हेरफेर गर्नुपर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीमा आमुल परिवर्तन र सुधार गरी यीनको आधुनिकीकरण अनिवार्य भएको छ । युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्नेछ । सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्छ ।

हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता रहनेछ । रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो । नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले धान्नै नसक्ने स्तरमा झाँगिएको छ । यो स्थितिमा नयाँ वर्षलाई उपलब्धीमुलक बनाउनु हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ । नेपाली नेपालीबीच द्वन्द्व नहोस् । परस्पर अविश्वास र हिंसाको दुःखद मनस्थिति नबनोस्, देशबासीहरू कुनैपनि नाम र निउँमा ध्रुवीकृत नबनुन् भन्ने कुरामा संवेदनशील छौं । नेपालीको एकतामा नै नेपालको भविष्य निहीत रहेको यथार्थलाई हामीले आत्मसाथ गरेका छौं । सबैले यही वास्तविकतालाई आत्मबोध गनुपर्दछ भन्ने ठान्दछौं । हाम्रा आह्वान हामी कसैको नीजि स्वार्थ पूर्तीका लागि होइन, कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन । समग्र राष्ट्रको स्वाधीनता, समग्र जनताको समप्रभुता, नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो । आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो । अनि आफ्नो स्वतः अस्तित्व हामी आफैंले उठाउने हो ।

संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ । आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ । र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं । नयाँ वर्षले नयाँ आशा, उमंग र उत्साह ल्यायोस् । अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस् । श्री पशुपतिनाथले हामी सबैको हामी सबैको कल्याण गरुन् । जय नेपाल ।


Read more: 

सहकारी घोटाला प्रकरणमा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने पक्राउ परेका छन्


ट्विटरको प्रतिष्ठित नीलो चरा लोगो ३५,००० डलरमा बिक्री


आज दिनभरि के के भयो? तिंकुने प्रदर्शन


काठमाडौंमा राजसंस्था पक्षधरको प्रदर्शनमा हिंसा के के भयो?


काठमाडौँ महानगरपालिकाले (KMC) ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुनेमा भएको प्रदर्शनमा सरकारी सम्पत्तिको तोडफोडका लागि ७ लाख ९३ हजार रुपैयाँ जरिवाना लगाएको छ ।

Post a Comment

0 Comments