इजरायल-हमास युद्ध सुरु भएपछि पहिलोपटक आपत्कालिन मानवीय सहायता सामाग्रीहरू बोकेका ट्रकहरू गाजा क्षेत्रमा प्रवेश

इजरायल-हमास युद्ध : मानवीय सहायता सामग्री बोकेका ट्रकहरू गाजा क्षेत्र प्रवेश

 काठमाडौँ — इजरायल-हमास युद्ध सुरु भएपछि पहिलोपटक आपत्कालिन मानवीय सहायता सामाग्रीहरू बोकेका ट्रकहरू गाजा क्षेत्रमा प्रवेश गरेका छन् ।रोयटर्स, बीबीसी लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले सेतो झण्डासहितका संयुक्त राष्ट्रका गाडीहरू इजिप्टबाट गाजातर्फ क्रसिङ हुँदै गइरहेको देखाइरहेका छन् ।

रातभरको इजरायली हवाई हमलापछि गाजामा पहिलो आपतकालीन सहायता ट्रकहरू शनिबार पुगेका हुन् । इजरायलद्वारा 'पूर्ण घेराबन्दी' भएको १२ औं दिनमा पहिलो सहायता पुगेको रोयटर्सले जनाएको छ ।

इजरायली बमबारीले दर्जनौं प्यालेस्टाइनीको मृत्यु भएपछि बल्ल पहिलो खेपको मानवीय सहायता पुगेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजिप्टसँग गाजाको रफाह सीमा बिन्दुबाट २० वटा सहायता ट्रकहरूका लागि सम्झौता गरेको र पहिलो ट्रकहरू ४८ घण्टा भित्र पास हुने शुक्रबार बताएका थिए ।

प्यालेस्टिनी अधिकारीहरूले इन्धन आपूर्तिहरू मानवीय सहायतामा समावेश नगरेकोमा चिन्ता प्रकट गरेका छन् । हमासले इजरायलमा आक्रमण गरेको दुई साता नाघिसकेको छ । गाजामा त्यसयता ४,००० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले विगत दुई हप्तामा ४ हजार ३ सय ८५ जनाको ज्यान गएको र संयुक्त राष्ट्रसंघले आफ्नो एजेन्सीका १७ कर्मचारी मारिएको जनाएको छ। इजरायलमा हमासले गरेको आक्रमणमा करिब १,४०० जनाको मृत्यु भएको छ ।

Post a Comment

0 Comments